+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीसँग अभियानकर्मी नवराज बोहराको भेट, “अब जुत्ता लगाएर अघि बढ्ने”

Janata Space
२०८२ असार ८, आईतवार १८:४९ बजे

काठमाडौं, ८ असार।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग खाली खुट्टा हिँडेर सुर्खेतबाट काठमाडौँ आएका अभियानकर्मी नवराज बोहराले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गर्नुभएको छ।

बोहराले कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणका लागि आवाज उठाउँदै गत जेठ ४ गते यात्रा सुरु गरेका थिए। ३१ दिनको यात्रापछि असार ३ गते राजधानी आइपुगेका बोहरा सोही दिन प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा थिए, तर कार्यव्यस्तताका कारण भेट असार ८ गते मात्र सम्भव भएको हो।

भेटका क्रममा बोहराले आफ्नो अभियानका अनुभव, देखिएका समस्या, उपचार नपाएका बालबालिकाको अवस्था र तिनको समाधानका पहलबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले बोहराको पवित्र भावना र संकल्पको प्रशंसा गर्दै स्वास्थ्य र परिवारको पनि ख्याल गर्न सुझाव दिनुभयो। उहाँले शरीरलाई धेरै दुःख नदिई सामाजिक परिवर्तनका अभियानलाई निरन्तरता दिन प्रोत्साहन गर्नुभयो।

भेटपछि प्रतिक्रिया दिँदै बोहराले, “आफ्ना कुरा प्रधानमन्त्रीसमक्ष राख्न पाउँदा खुशी लागेको” बताउँदै, पहिलो चरणको अभियान सम्पन्न भएकाले अब जुत्ता लगाएर र दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने योजना सुनाउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space