✍ लेखनाथ सिकारू
काठमाडौं, असार २ – भूटानी शरणार्थीको पीडा, प्रेम र पुनर्बासको कथालाई समेटिएको साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ को विमोचन नेदरल्यान्डमा गरिएको छ।
विश्व भूटानी साहित्यिक संगठन (GBLO) द्वारा आयोजित विशेष साहित्यिक कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यमा उपन्यास विमोचन गरिएको हो।
राजदूत लम्सालले उपन्यासको प्रसंग उठाउँदै निर्वासनको पीडामा बाँचेका भूटानी शरणार्थीको यथार्थ र आत्मबल अबका दिनमा सहज हुने आशाका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरिन्।
साहित्यकार खगिन्द्रा खुशीले उपन्यासमार्फत झापा र मोरङका शरणार्थी शिविरमा बिताएका दिन, त्यहाँको प्रेम र पीडादायी संघर्षका दुई दशक लामो यात्रालाई समेटेकी छन्। “शिविरभित्रको जीवन केवल बसोबास मात्र होइन, त्यो एक अस्तित्वको लडाइँ थियो,” उनले भनिन्।
कार्यक्रममा ‘धुलोमा हिरा’ (गोपाल पौडेल) र ‘याम एक सापेक्ष’ (याम राई) नामक दुई अन्य कृतिहरूको पनि विमोचन गरिएको थियो।
GBLO का अध्यक्ष कर्ण गुरुङले ‘खुशीको गाउँ’ भूटानी शरणार्थीको असल दस्तावेज भएको बताउँदै यसले निर्वासनपछिको संघर्षको इतिहासलाई साहित्यमा जोगाउने काम गर्ने बताए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (NRNA) का उपाध्यक्ष विश्वासदीप तिगेला, साहित्यकार पातलो अन्तरे, प्रकाश आङ्देम्बे, डेनजोम साम्पाङ, अनुराधा पौडेल, डिपी शर्मा मैनाली, थुप्तेन ड्रुक्पा, ईश्वर ढकाल लगायतले ‘खुशीको गाउँ’ को प्रशंसा गर्दै यसको गहिरो सामाजिक सन्देशबारे चर्चा गरे।
उक्त कार्यक्रमले विश्वभर फैलिएका नेपालीभाषी भूटानी समुदायको साहित्यिक अभिव्यक्तिको सशक्त उदाहरण पेश गरेको सहभागीहरूको भनाइ थियो।
प्रतिक्रिया