✍ राजन घर्ती
काठमाडौं । प्रमुख विपक्षी दल माओवादी केन्द्र सदन अवरुद्ध नगर्ने सहमतिमा आएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निरन्तर विरोधका कारण प्रतिनिधिसभा गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन।
भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामालगायत माग अघि सार्दै रास्वपाले संसदको वेल घेराउ कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। सभामुख देवराज घिमिरेले विगतका बैठकहरू वेल घेराउकै बीच सञ्चालन गरेपछि रास्वपा र राप्रपाले त्यसप्रति आपत्ति जनाएका छन्।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना माग सम्बोधन नहुँदासम्म संसद सञ्चालन गर्न नदिने चेतावनी दिँदै सभामुखलाई आग्रह गर्नुभएको छ।
संसदीय मर्यादा उल्लंघन भएको भन्दै विपक्षी दलहरू सभामुख घिमिरेमाथि आलोचनामा उत्रिएका छन्। उनीहरूले सत्तापक्ष वा विपक्षीका सांसद वेलमै उभिएर विरोध जनाउँदा संसद अगाडि बढाउने हालको अभ्यास संसदीय परम्पराविपरीत भएको दाबी गरेका छन्।
यता, आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। कार्यसूचीअनुसार आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। सभामुखको अनुमतिमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने तयारी अर्थमन्त्रीको भए पनि प्रतिपक्षीको अवरोध कायमै रहेकाले बैठक पुनः प्रभावित हुने सम्भावना छ।
प्रतिक्रिया