✍ राजन घर्ती
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले सोमबार मध्यराति प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नुभयो।
दिउँसो ३ बजे बजेट पेश गर्ने तयारी भए पनि दलहरूबीच सहमति नजुटेपछि बैठक ढिलाइएको हो। बजेट प्रस्तुत गर्नु अघि माओवादी केन्द्रले योजना बैंक अपारदर्शी र एकलौटी भएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो।
बजेटमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँभन्दा बढी र चालू खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख रुपैयाँ अर्थात् कुल बजेटको करिब १३.९५ प्रतिशत छुट्याइएको छ।
मन्त्री शाहले पूर्वाधार निर्माणमा लगानी विस्तार, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन, उत्पादन र रोजगारी सिर्जना, कृषि, उद्योग, पर्यटन तथा सूचना प्रविधिको विकासलाई बजेटले प्राथमिकता दिएको बताउनुभयो।
यस वर्षको बजेट चालू आवको तुलनामा करिब ५ प्रतिशतले बढाइएको हो।
प्रतिक्रिया