✍ लेखनाथ सिकारू
पाँचथर, आषाढ १ — पाँचथर जिल्लाको हेवाँखोलामा निर्माणाधीन मोडुलर ब्रिज भाँचिँदा ६ जना कामदार गम्भीर घाइते भएका थिए, जस मध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ।
मेची राजमार्ग अन्तरगत फिदिम–हिलिहाङ सडक खण्डमा पर्ने हेवाँ खोलामा शनिबार राति ७० मिटर लामो सिङ्गल स्पान मोडुलर ब्रिज जडान गरिने क्रममा पुल भाँचिएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल कुमार बुढाथोकीका अनुसार गम्भीर घाइते भएका कामदारहरूलाई शनिबार राति बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो। उपचारका क्रममा आइतबार २२ वर्षीय रुपलाल चौधरी, राजन चौधरी र रोकेश चौधरीको मृत्यु भएको हो। तीनै जना बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी थिए।
अन्य तीन जना—२५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको नोबल अस्पतालमा उपचार भइरहेको छ।
नेपालमै पहिलोपटक प्रयोगमा ल्याइँदै गरिएको ७० मिटर लामो पिलरविहीन मोडुलर ब्रिज भारतीय प्राविधिकहरूको सहयोगमा जडान गरिँदै थियो। गत असोजको बाढीले यस क्षेत्रको पक्की पुल बगाएपछि वैकल्पिक रुपमा लगाइएको बेलिब्रिज पनि बगाएको थियो। त्यसपछि उक्त स्थानमा मोडुलर ब्रिज निर्माण कार्य अघि बढाइएको थियो।
यस दुर्घटनाले निर्माणको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया