काठमाडौँ, असार ८ — ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने नारासहित नेपाल मानव धर्म सेवा समितिले देशभर ११औं अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
देशैभर फैलिएका समितिका क्षेत्रीय तथा शाखा आश्रमहरूद्वारा समन्वयमा आयोजित योग तथा साधना शिविरहरू १५ स्थानमा सम्पन्न भए। आयोजकका अनुसार करीब दुई हजार सहभागीहरूले योग शिविरमा सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रममा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले योगलाई शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक शुद्धिकरणको साधनका रूपमा पनि महत्व दिँदै हरेक दिन योग अभ्यास गर्न आग्रह गर्नुभयो। “योग कुनै अवसर वा दिवस विशेषको विषय होइन,” उहाँले भनिन्, “यो त जीवनशैलीमा समाहित हुनुपर्ने अभ्यास हो।”
त्यस्तै, योग गुरु पुरुषोत्तम कोइरालाले योगको नियमित अभ्यासले शरीरलाई फूर्तिलो बनाउनुका साथै मनलाई शान्त राख्ने बताउँदै योग गर्ने व्यक्तिहरूलाई सामान्य रोगका कारण हत्तपत्त अस्पताल जानुपर्ने अवस्था नआउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा परापूर्वकालदेखि ऋषिमुनिहरूले योगलाई जीवनको अभिन्न अङ्ग बनाएर दीर्घजीवन प्राप्त गरेको प्रसङ्ग पनि उल्लेख गरियो। सहभागीहरूलाई योगको ऐतिहासिक, वैज्ञानिक तथा आधुनिक सन्दर्भमा समेत जानकारी दिइएको थियो।
संयुक्त राष्ट्रसंघको प्रस्तावमा सन् २०१४ देखि हरेक वर्ष जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदै आएको छ।
प्रतिक्रिया