इजरायल र इरानबीच जारी तनावले विश्व बजारमा असर पार्न थालेको छ। यसको प्रभाव अब रासायनिक मल उत्पादन र आपूर्तिमा समेत देखिन थालेको छ। कच्चा पदार्थको अभाव र ढुवानी संकटका कारण रासायनिक मलको मूल्य २० प्रतिशतसम्म बढ्नसक्ने आँकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ।
यसको प्रत्यक्ष मारमा पर्ने वर्ग भने नेपाली किसान नै हुन्। अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिक्विन्टल ४ सय अमेरिकी डलर पर्ने युरिया मल नेपाल आइपुग्दा ५ सय डलर भइसकेको छ। युद्ध लम्बिदै गएमा कोटा अनुसारको आपूर्ति असम्भव हुनसक्ने मन्त्रालयको चेतावनी छ।
यस वर्ष सरकारले ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने योजना बनाएको भए पनि अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिले त्यसमा अवरोध आउन सक्ने देखिएको छ। खासगरी धान रोपाइँको समय नजिकिँदै जाँदा, यदि मल अभाव भयो भने यसले खाद्यान्न उत्पादनमा प्रत्यक्ष असर पार्नेछ, जसको अर्थ आयातमा निर्भरता बढ्ने, महँगी चुलिने, र कृषकको मनोबल घट्ने।
प्रत्येक वर्ष नेपाली किसानले मल अभावको सास्ती खेप्नुपरेको विडम्बनापूर्ण यथार्थ हो। योजना र वितरणको समन्वय अभाव, ढिलो प्रक्रिया र बजार अस्थिरताको मार किसानमाथि एकपछि अर्को चोटको रूपमा पर्दै आएको छ। युद्धजस्ता विषयमा नेपालको प्रत्यक्ष भूमिका नहुन सक्छ, तर त्यसको असर न्यूनीकरण गर्न राज्यले पूर्वतयारी र रणनीतिक भण्डारण प्रणाली विकास गरिसक्नुपर्ने हो।
अब पनि सरकार निष्क्रिय रह्यो भने, यो वर्षको धान उत्पादनमात्र होइन, समग्र खाद्य सुरक्षामै संकट आउन सक्छ। त्यसैले अहिलेको अवस्था सावधानी अपनाउने समय हो, ढिलाइ गर्ने समय होइन।
राज्यले तत्काल वैकल्पिक आपूर्तिकर्ताको खोजी, कूटनीतिक पहल, र यथासम्भव मलको भण्डारणमा प्राथमिकता दिनुपर्छ। किसानको भरोसा केवल भाषणले होइन, सही समयमा आवश्यक मल सुनिश्चित गरेर मात्र कायम रहन सक्छ।
प्रतिक्रिया