+
Search

ताजा अपडेट +

पपुलर +

इरानका इन्टेलिजेन्स प्रमुख मारिए

इजरायली आक्रमणमा इरानका इन्टेलिजेन्स प्रमुख मारिए, युद्ध तेस्रो दिनमा

Janata Space
२०८२ असार २, सोमबार १०:१५ बजे

✍ राजन घर्ती

तेहरान :- इजरायल र इरानबीच जारी सैन्य तनाव चरम सीमामा पुगेको छ। इजरायलले आइतबार इरानको राजधानी तेहरानमा पुनः भीषण हवाई आक्रमण गरेको छ, जसमा इरानका इन्टेलिजेन्स प्रमुख मोहम्मद काजेमी मारिएको पुष्टि भएको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (IRGC) अन्तर्गतको इन्टेलिजेन्स युनिटका प्रमुख काजेमीका साथै उनका सहायक हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि मारिएका छन्।

शुक्रबार बिहान इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो संघर्ष तेस्रो दिनसम्म आइपुग्दा थप चर्किएको छ। इरानले इजरायली सहर तेल अवीवसहितका क्षेत्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा जवाफी कारबाही जारी राखेको छ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म २२४ जना इरानी नागरिकको मृत्यु भइसकेको छ। उता बीबीसीका अनुसार इरानी आक्रमणमा गएराति कम्तिमा १० जना इजरायली नागरिक मारिएका छन्।

युद्ध रोक्न विश्व शक्तिहरू सक्रिय भएका छन्। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई तत्काल सम्झौताको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। तर इरानले आक्रमण भइरहेका बेला कुनै पनि प्रकारको युद्धविराम वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने यो युद्धको उद्देश्य तनाव घटाउने नभई इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने रहेको बताउनुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space