✍ राजन घर्ती
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डको पूर्वी खण्डको निर्माण कार्य सम्पन्न भएको छ। तनहुँको अँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर सडक निर्माण जेठ मसान्तसम्ममा सम्पन्न भएको हो।
९० किलोमिटर लम्बाइको सम्पूर्ण सडकमध्ये मस्र्याङ्दी जलविद्युत गृह आसपासको सात किलोमिटर भागबाहेक पूर्वी खण्डको काम अन्त्य भएको सडक आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण सम्पन्न भएका पुलहरूको हाल रंगरोगनको काम भइरहेको छ।
पूर्वी खण्डमा पर्ने १८ मध्ये १७ वटा पुल निर्माण पूरा भइसकेको छ भने बाँकी रहेको दमौली–मादी खोलाको पुल अझै निर्माणाधीन छ। मादी खोलाको पुल निर्माणका लागि २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो, जुन २०२५ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ।
पृथ्वीराजमार्गको सूचना अधिकारी विष्णु पाण्डेका अनुसार असार मसान्तसम्ममा एउटा पुलबाहेक सम्पूर्ण सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। मुख्य सडकको काम सकिए पनि दमौली र डुम्रे बजार क्षेत्रमा पर्ने करिब २०० मिटर सर्भिस लेन अझै निर्माणाधीन अवस्थामा छ। वर्षा रोकिए एक साताभित्र सर्भिस लेनको कामसमेत सकिने पाण्डेले जानकारी दिनुभयो।
प्रतिक्रिया