✍ लेखनाथ सिकारू
काठमाडौँ, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारी क्षेत्रको अवैध फडानी र चोरी निकासी नियन्त्रण गर्न कडा निर्देशन दिनुभएको छ। सिंहदरबारमा वन तथा वातावरण मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्रीले वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको फडानी तुरुन्त रोक्न आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले वनमन्त्री ऐनबहादुर शाही, कानुनमन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल तथा अन्य अधिकारीसँगको छलफलमा उमेर नपुगेका सालका रुखहरू कटान नगर्न स्पष्ट निर्देशन दिनुभयो। उहाँले यस्ता रुखहरू पानी पार्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।
ब्रिफिङमा प्रधानमन्त्रीलाई ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०८२’ को मस्यौदाबारे जानकारी दिइयो। मापदण्डमा युरो–६ स्तरको प्रदूषण नियन्त्रणका उपाय समावेश छन्। प्रधानमन्त्रीले क्षेत्रीय सहकार्यमार्फत छिमेकी मुलुकबाट आउने धुँवा र जङ्गल डढेलोको प्रदूषण समाधान गर्नुपर्नेमा पनि जोड दिनुभयो।
प्रतिक्रिया