लेखनाथ सिकारू,
धुलिखेल, काभ्रेपलाञ्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त शैक्षिक ज्ञानलाई व्यवहारमा उतार्दै नयाँ–नयाँ चुनौतीको सामना गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ।
**काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोस्रो चरण)**लाई आज धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्ययन जीवनभर चल्ने प्रक्रिया भएको उल्लेख गर्दै आफूले सिकेको ज्ञान मौलिक ढंगले व्यवहारमा प्रयोग गर्नुको महत्त्वमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “अब नेपालको पहिचान बहादुरमात्र होइन, इमान्दार, मेहनती र शालीन जनताको देशको रूपमा पनि स्थापित गर्न जरुरी छ।”
प्रधानमन्त्री ओलीले सीपयुक्त जनशक्ति तयार पार्नुपर्ने आवश्यकता औंल्याउँदै अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्न विद्यार्थीहरूलाई प्रेरणा दिनुभयो।
उहाँले नेपाल कहिल्यै कुनै विदेशी शक्तिको अधिनमा नरहेको गर्वका साथ स्मरण गराउँदै भन्नुभयो, “नेपाल नेभर कोलोनाइज्ड हो। सानो भए पनि हाम्रो देश स्वाभिमानी छ। तोपसँग चक्कु लिएर पनि स्वाधीनता जोगाउने हाम्रो इतिहास छ।”
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई रोजगार खोज्ने होइन, अब रोजगारी दिने बन्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाललाई दक्ष, सभ्य, र आत्मनिर्भर राष्ट्र बनाउन सबै तहमा योगदान गर्न आह्वान गर्नुभयो।
उहाँले थपे, “हाम्रो पुर्खाहरूले तुलसी, बकाइनो, पिपल जस्ता वनस्पतिको औषधीय महत्व पहिल्यै पत्ता लगाइसकेका थिए, त्यसैले नेपालमा अनुसन्धानको परम्परा नयाँ होइन।”
अन्त्यमा, प्रधानमन्त्री ओलीले विश्वभर शान्तिको आवश्यकता रहेकाले जल, वायु र आकाशमा अशान्ति नहोस् भन्ने चेतना र कर्मको मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रतिक्रिया