काठमाडौं, जेठ ३० — राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको सय दिन नपुग्दै १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ। फिल्मले दर्शकको साथ पाउँदै ९२ औँ दिनमा प्रवेश गरिसकेको छ।
निर्देशक मिलन चाम्सद्वारा निर्देशित यो फिल्म हाल क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित रूपमा प्रदर्शन भइरहेको छ।
फिल्मले सय दिनको प्रदर्शन नजिकिँदै गर्दा निर्माण टिमले दर्शकहरूलाई विशेष सहुलियत दिने घोषणा गरेको छ। निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार अब दर्शकले ‘अञ्जिला’ फिल्म सिर्फ १०० रुपैयाँमै हेर्न सक्नेछन्।
“दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आउनु भएको छ। सय दिन पुग्न लागेको अवसरमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने योजना बनाएको छ, र हामीले पनि पूर्ण समर्थन गरेका छौँ,” श्रेष्ठले भने।
‘अञ्जिला’ मा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, र प्रेमकुमार श्रेष्ठको समेत अभिनय रहेको छ। फिल्मले महिला सशक्तिकरण, संघर्ष र सफलताको कथालाई भावनात्मक तरिकाले चित्रण गरेको छ।
दर्शकको प्रशंसा र बक्स अफिसमा मिलेको सफलताले फिल्मलाई नेपाली सिने क्षेत्रमा उल्लेखनीय उचाइमा पुर्याएको छ।
लेखनाथ सिकारू
प्रतिक्रिया