बाढीबाट बाँध र बस्ती जोगाउन बजेट अभाव बजेट अभावमा रौतहटको लालबकैया र बागमती नदीमा बाँध मर्मत र स्परको काम प्रभावित भएको छ । लालबकैया र बागमती नदीमा आउन सक्ने बाढीबाट बाँध र बस्ती जोगाउन ‘स्पर’ निर्माणको ठेक्का लागे पनि बजेट उपलब्ध नहुँदा काम रोकिएको हो । बर्खा अगावै बाँध मर्मत र स्परको काम सम्पन्न नभए स्थानीयले यसवर्ष पनि डुबानको समस्या झेल्नुपर्ने देखिएको छ । बागमती–लालबकैया नदी नियन्त्रण आयोजनाले दुवै नदीमा बाँध मर्मत तथा स्पर निर्माणका लागि २०८१ चैत र जेठ २ मा ठेक्का सम्झौता गरेको थियो । तर, बजेट थोरै भएको भन्दै निर्माण कम्पनीले काम सुरु गरेको छैन । दुवै नदीमा बाँध मर्मत तथा स्पर निर्माणका लागि १९ करोडमा ठेक्का लागिसकेको भएपनि सरकारले ४० लाख रुपैयाँ मात्रै विनियोजन गर्ने बताएको आयोजना प्रमुख अखलाक अहमद सिद्दिकीले जानकारी दिनुभयो । नदी नियन्त्रण आयोजना मार्फत अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि पहिलो पटक १५ करोड रुपैयामा ९ वटा स्परको ठेक्का लागेको थियो । जोखिम न्यूनीकरण तथा विपद् प्राधिकरण मार्फत थप ४ करोडका ३ वटा स्पर बनाउन ठेक्का लागेको आयोजनाले जनाएको छ । आयोजनाले लालबकैयातर्फ ७ र बागमतीमा ५ वटा स्पर निर्माण गर्न लागेको हो । आयोजना प्रमुख सिद्दिकीका अनुसार अहिलेसम्म २ वटा ठेक्काको मात्र काम सुरु भएको छ । बाँधको सुरक्षाका लागि आयोजनाले एक वर्षभित्र काम सक्नेगरी स्पर बनाउन ठेक्का लगाएको हो । स्पर बनाउन नसके बाढीले बाँध भत्काएर गाउँ पस्ने जोखिम भएको उहाँको भनाई छ । राजदेवी नगरपालिकास्थित बागमती नदीमा नयाँ स्पर र पुरानो मर्मतको ठेक्का पाएको श्रीजी बिल्डर्सका सञ्चालक आनन्दसागर सिंहले पेस्की रकम नै नपाएका कारण काम सुरु गर्न नसकिएको बताउनुभयो ।
बाढीबाट बाँध र बस्ती जोगाउन बजेट अभाव
बजेट अभावमा रौतहटको लालबकैया र बागमती नदीमा बाँध मर्मत र स्परको काम प्रभावित
२०८२ जेष्ठ २४, शनिबार ०९:४१ बजे

प्रतिक्रिया